काठमाडौँ- भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत भूमि प्रशासन कार्यालय नेपालगञ्जले लेखापढी व्यवसायीका लागि तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लागू गर्ने सूचना जारी गरेको छ ।
लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ (२०८३ वैशाख ९ गतेको संशोधनसहित) अनुसार प्रमाणपत्र नवीकरण, परिचयपत्र व्यवस्था तथा अड्डा-अदालतमा व्यवसाय गर्दा अनिवार्य पोसाक सम्बन्धी प्रावधान लागू गरिएको कार्यालयले जनाएको छ ।
नियमावलीको व्यवस्था अनुसार प्रमाणपत्र लिएको पाँच वर्ष पूरा भएका व्यवसायीले छ महिनाभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । साथै, अदालत तथा सम्बन्धित कार्यालयमा सेवा प्रदान गर्दा नियमावलीको अनुसूची-५ अनुसार निर्धारित पोसाक अनिवार्य गरिएको छ ।
पुरुष लेखापढी व्यवसायीका लागि बैजनी रंगको कोट वा स्टकोट, सोही रंगको पाइन्ट तथा नीलो-बैजनी सर्ट तोकिएको छ भने महिला व्यवसायीका लागि बैजनी कोट र पाइन्ट वा सोही रंगको कुर्ता-सुरुवाल अथवा सारी-ब्लाउज अनिवार्य गरिएको छ ।
कार्यालयले आगामी २०८३ जेठ १५ गतेदेखि लागू हुने गरी लेखापढी व्यवसायीले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र र निर्धारित पोसाक लगाउनुपर्ने जनाएको छ । उक्त नियम पालना नगरेमा कार्यालय प्रवेशमा रोक लगाइने समेत सूचनामा उल्लेख गरिएको छ ।
