काठमाडौँ -नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गठित सिफारिस समितिले संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालय, सिंहदरबारमा बसेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ (३) अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि संक्षिप्त सूची तयार गरेको जनाएको छ
समितिका अनुसार तोकिएको समयसीमाभित्र ४७ जनाले व्यक्तिगत विवरण पेश गरेका थिए । तीमध्येबाट छनोट गरी चार जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको हो ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूसँग समितिले तोकिएको मिति र समयमा छलफल गर्ने भएको छ । छलफल अर्थ मन्त्रालय, सिंहदरबारमै सञ्चालन गरिनेछ ।
समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार डा. नवराज अधिकारीसँग २०८३ साल जेठ ८ गते दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे र डा.गोपालप्रसाद भट्टसँग २:३० बजे छलफल हुने उल्लेख गरिएको छ ।
