काठमाडौँ – प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू आगामी मंगलबारदेखि खोल्ने तयारी गरिएको छ।
संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सात वटा उजुरी दर्ता भएका छन्। उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म कायम रहने जनाइएको छ।
गत वैशाख २६ गते बसेको समितिको बैठकले शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गर्दै १० दिनको समय दिएको थियो।
सचिवालयका अनुसार उजुरी विभिन्न माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक, इमेल तथा प्रत्यक्ष रूपमा सचिवालयमा पुगेर लिखित निवेदन दिन सकिनेछ। साथै समितिका सदस्यलाई खामबन्द रूपमा उजुरी बुझाउन सकिने व्यवस्था पनि गरिएको छ।
देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दर्ता गर्न सकिने जनाइएको छ। उजुरी पेश गर्दा विषयसँग सम्बन्धित आधार, कारण र प्रमाण स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरिएको छ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा। शर्माको नाम संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइने संवैधानिक व्यवस्था रहेको छ।