काठमाडौं। अण्डाको भाउ सातादिन नहुँदै बढ्न थालेको छ। उत्पादन लागत बढी परेको भन्दै बजार मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको नयाँ मूल्य तोकेको हो।
संघले गत साताको भन्दा अण्डा क्रेटमा ५० रुपैयाँसम्म बढाएको छ। अब उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैयाँ पर्ने संघले जनाएको छ। संघले तोकेको नयाँ मूल्य अनुसार एक्स एल अण्डा क्रेटमा ३० रुपैयाँ बढेर प्रति क्रेट ५३० रुपैयाँ पुगेको छ।
ठुलो अण्डा पनि क्रेटमा ३० रुपैयाँ बढेर प्रति क्रेट ५१५ रुपैयाँ भएको छ। मिडियम अण्डा सबैभन्दा बढी क्रेटमा ५० रुपैयाँ बढेर प्रति क्रेट ४८५ रुपैयाँ पुगेको छ। सानो अण्डा क्रेटमा ३८५ रुपैयाँ कायम भएको छ ।
यस अघि एक्स एल अण्डा प्रति क्रेट ५०० रुपैयाँ , ठुलो अण्डा प्रति क्रेट ४८५ रुपैयाँ ,मिडियम अण्डा प्रति क्रेट ४३५ रुपैयाँ र सानो अण्डा प्रति क्रेट ३६० रुपैयाँ थियो।दुइ सातामा अण्डाको भाउ ८५ रुपैयाँसम्म बढेको छ।
संघले लागत बढेको अनुपातमा उत्पादन घटेको कारण देखाउदै अण्डाको मूल्य बढाएको हो। हरेक हप्ता भाउ बढाउँदा उपभोक्तालाई मार परेको छ। पछिल्लो नेपालमा हरेक दिन ३५ लाख गोटाभन्दा कम अण्डा उत्पादन हुँदै आएको छ। हाल उत्पादनसँगै ढुवानी, प्याकेजिङ लगायत महँगो हुँदा भाउ बढाउनु बाध्यता भएको संघले जनाएको छ।