काठमाडौँ । गत आर्थिक वर्ष २०८१र८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ ।
त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।
भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए ।
आव २०८१र८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ । आव २०८१र८२ मा पर्यटक शुल्कबाट नपाले २९ करोड ११ लाखभन्दा बढी संकलन गरेको नगरपालिकाले जनाएको छ ।
त्यसमा गैरसार्क पर्यटकबाट रु. २३ करोड ३३ लाख ७८ हजार ७६० र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट रु. पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ । आव २०८०र८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले रु २७ करोड ४५ लाख संकलन गरेको थियो । त्यसमा गैरसार्क पर्यटकबाट रु. २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट रु छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो । नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०८१र८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन । गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार भक्तपुर घुम्नेमा दोस्रोमा चिनियाँ पर्यटक परेका छन् । गत वर्ष ३६ हजार १३५ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १६ हजार ५५८, जर्मनीका ११ हजार ७८८, फ्रान्सका ११ हजार ७५४, इटालीका आठ हजार २२८, स्पेनका सात हजार ९८, जापानका छ हजार ७३३, इङ्गल्याण्डका छ हजार ५०२, अस्ट्रेलियाका चार हजार ९६८, ताइवानका चार हजार ६६०, हल्यान्डका चार हजार १६५ नागरिकले भक्तपुर अवलोकन गरेको थियो ।
यस्तै पोल्यान्डका तीन हजार ९३, रसियाका दुई हजार ८८२, थाइल्यान्डका दुई हजार ५९५, दक्षिण कोरियाका दुई हजार ५४३, इजरायलका दुई हजार ५१९, क्यानडाका दुई हजार ३६०, मलेसियाका दुई हजार ९९ र अन्य मुलुकका २९ हजार ५६ जनाले भक्तपुर नगरको अवलोकन गरेका छन् । नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न चालु आर्थिक वर्ष २०८२र८३ देखि गैरसार्क पर्यटकसँग प्रति पर्यटक रु दुई हजार र सार्क तथा चिनियाँ पर्यटकसँग रु ५०० शुल्क निर्धारण गरेको छ ।
नगरपालिकाले हाल खौमा, सानो व्यासी, ठुलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको छ।
नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत छ भाषामा नक्सासहितको ब्रोसर, नि:शुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ ।
भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ ।
नगरपालिकाले पर्यटकको आकर्षण वृद्धि गर्न नगरभित्रका सम्पदाको पुन:निर्माणमा जोड दिँदै आइरहेको छ । त्यसअनुसार २०७२ सालपछि हालसम्म ६९ पाटी, ४७ मन्दिर, १५ द्योछेँ, २२ पोखरी, नौ सत्तल, नौ इनार, पाँच मठ, ढुङ्गेधारा नौ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुन:निर्माण सम्पन्न गरेको तथा हाल १४ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेको छ ।
भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ, झिँगटीका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको छ । कला संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयमा सांस्कृतिक गुरुको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति नगरपालिकाले लिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहजरूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्ने योजना नगरपालिकाको छ ।