काठमाडौं । ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार रहेका गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक एवं शेयरधनी तनहूँ भानु नगरपालिका-८ बगालेफाँटका राम बहादुर खनाल पक्राउ परेका छन् ।
कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको सुर्यदर्शन वचत तथा ऋण सहकारीमा ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा खनाल पक्राउ परेका हुन् ।
नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनीको संचालक एवं शेयरधनी खनाललाई कार्यालयबाट खटीएको प्रहरी टोलिले शुक्रबार काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
गोर्खा ग्रुप अफ कम्पनी लि. र नेचर हब्र्स इन्टरनेशनल गरी दुवै संस्थाका मुख्य संचालक जीबी राई हुन् । उनी अझै फरार छन् । सहकारीको रकम नेचर हब्र्समा पनि ल्याएको पाइएपछि खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी राईका व्यावसायिक साझेदार हुन् ।
पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको ब्यूरोको प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एर्व पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने एक सातादेखि कास्की प्रहरी हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत् अपचलन गरेको भन्दैं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ जना व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो ।