नुवाकोट । बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवालाई भरपर्दो र छोटो वैकल्पिक सडकमार्फत जोड्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयले बेलीब्रिज निर्माणको प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ स्थित तल्लो कुवापानी–बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित वहाखोलासम्म जोड्ने गरी फलाँखु खोलामा बेलीब्रिज निर्माण गरिनेछ।
सम्बन्धित स्थानीय तहका अध्यक्षहरूले गरेको अनुरोधका आधारमा मन्त्रालयले पुल निर्माणका लागि आवश्यक निर्देशन र सहजीकरण गरिसकेको जनाएको छ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवाबीच सबैभन्दा छोटो वैकल्पिक सडकमार्ग सञ्चालनमा आउने अपेक्षा गरिएको छ। उक्त मार्ग सञ्चालनमा आएपछि फलाँखु खोलाबाट नुवाकोटको विदुर करिब २३ किलोमिटर र रसुवाको धुन्चे करिब ३५ किलोमिटर दूरीमा रहनेछ।
हाल सडक सम्पर्क अवरुद्ध हुँदा रसुवामा सर्वसाधारणको आवतजावत तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित हुँदै आएको छ। नयाँ वैकल्पिक मार्ग निर्माणपछि अवरुद्ध यातायात सहज हुनुका साथै स्थानीयवासीलाई आवतजावतमा राहत पुग्ने अपेक्षा गरिएको छ।