काठमाडौँ, ११ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रवार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साढु भाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।
नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै विरोध गरिरहेका बेला परिषद्ले न्यायाधीश सिफारिस गरेको छ ।
परिषद्ले १४ न्यायाधीशहरूको सरुवा सिफारिस गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरेको परिषद्का प्रवक्ता सह-सचिव अशोक कुमार क्षेत्रीले बताए ।