वीरगन्ज, १ असोज । सामाजिक सञ्जालमा फेक आइडी बनाएर समाजमा आतङ्क फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवामा बसोबास गर्ने २१ वर्षीय ओम कुमार पटेल रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले केटिएम दैनिकलाई बताए ।
पटेललाई आज प्रतिमाचोक नजिकबाट पक्राउ गरिएको हो।
अपशब्द प्रयोग गर्ने, गाली गर्ने हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा आतङ्क फैलाएपछि सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
डिएसपी भारतीका अनुसार, पटेल फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, व्हाट्सएप र म्यासेन्जरजस्ता विभिन्न सामाजिक सञ्जालहरूमा ‘किङ अफ पर्सा’ नामको आइडी प्रयोग गर्दै सार्वजनिक शान्ति भङ्ग गर्ने र द्वन्द्व सृजना गर्ने किसिमका अराजक गतिविधिहरूमा संलग्न थिए।
थप अनुसन्धानका क्रममा यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीको भनाई छ।
सर्वसाधारणलाई यस्ता क्रियाकलाप नगर्न आग्रह गर्दै डिएसपी भारतीले कानुनी कारबाहीको चेतावनी समेत दिएका छन्।