काठमाडौं, २८ भाद्र । नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।
भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो । यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका थिए । नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा उनी नेपाल आएका थिए ।
यचुरी पछिल्लो ३२ बर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए । उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए ।
यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताल लाई बुझाउने बताइएको छ ।