- सचिन्द्र श्रेष्ठ
नेपाल आदिवासी जनजाति महासङ्घ युएईद्वारा दुबईमा विविध कार्यक्रम गरेर ३० औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।
“संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर ” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम मनाइएको हो ।
कार्यक्रममा विभिन्न जातीय खानपान, भेष -भूषाहरूको प्रदर्शन र मौलिक संस्कृति झल्काउने खालका नाचगान प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर दिनबन्धु सुवेदी र कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासङ्घ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए ।
कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, व्यवसायी, बुद्धिजीवी, कलाकार,समाजसेवी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण जातीय सांस्कृतिक झाँकी प्रदर्शन, खानपानका परिकारहरूको स्टल, जातीय भेष -भूषाहरूको स्टल र पुराना बस्तुहरूको प्रदर्शनी रहेको थियो ।
कार्यक्रममा अतिथिहरूले विभिन्न जातीय स्टलहरूमा अवलोकन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा लिएका थिए । साथै अतिथि तथा सम्पूर्ण दर्शकहरूले जातीय विभिन्न परिकारका खानाको स्वादको आनन्द लिएको प्रत्यक्ष देख्न सकिन्थ्यो ।जातीय साङ्गीतिक रमझमका साथै मौलिक खानपानको व्यवस्था थियो ।
स्थानीय कलाकारहरुको विविध साङ्गीतिक प्रस्तुतिहरू सँगै मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत भएको थियो । हरेक संस्थाबाट एक जना मिस्टर र एक जना मिस गरी जम्मा १८ जना कन्टेस्टेन्ट सहभागी थिए । जसमा मिस इन्डिजिनियस युएई-२०२४ का लागि शेर्पा किदुक युएईबाट टासी डोल्मा शेर्पाले हात पार्न सफल भएकी छिन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ नेपाल मगर सङ्घ शाखा युएईका होम रजाली मगरको भागमा परेको छ ।