दुबई । यूएईमा छरिएर रहेका नेवा समुदायले यस वर्ष पनि पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्ह: पूजा सहित नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसीयालीमा यूएईको दुबईमा साँझ सामूहिक रूपमा बृहत् कार्यक्रम गरी मनाएका छन्।
नेवा: पुच: यूएईको आयोजनामा भएको नेवा: परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुच:का अध्यक्ष बिरेन्द्र नकर्मीले बताए।
शनिवार २ नोभेम्बरका दिन साँझ ५:०० बजे देखि राति ९:०० बजे सम्म वर दुबई स्थित ब्लू प्यालेसमा दर्जनौँ नेवा:समुदाय एवं अन्य अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेवा:पुच: का अध्यक्ष नकर्मीले सबै अतिथिलाई स्वागत गर्दै उक्त कार्यक्रमको लागि युएईका विभिन्न राज्यहरूबाट उपस्थिति जनाएका थिए ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले शुभकामना व्यक्त गर्दै नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति, भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन यस्ता कार्यक्रमले अन्य जात जातीलाई समेत सिक्न मद्दत पुगेको बताए ।
उनले परापूर्व काल देखि सुरु भएको संस्कृति र परम्परालाई स्वदेशमा मात्र सीमित नराखी यूएईमा पनि निरन्तरता दिनु प्रशंसनीय कार्य भएको धारणा राखे।
म्ह:पूजा गर्दा उपस्थित सबैको पूर्वसम्मुख पारेर एक एक वटा मण्डल बनाइ, मण्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, पानी र रंगीबिरंगी फूलका घेरा हाली बनाइएको थियो र सगुन लिने काम गरी सम्पन्न गरिएको हो।
म्ह: पूजाको अन्तमा सबै जना एकै पङ्क्तिमा भुईँमा बसी सुन्दर रूपमा सिँगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवा: भ्वय खाएका थिए।
म्ह: पूजाको अर्थ शरीरको पूजा हो । म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भन्ने गरेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।
नयाँ वर्ष सँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोग व्याधि नलाग्ने, शरीर स्वस्थ्य, स्वच्छ, पवित्र हुनुका साथै कुनै पनि दुःख नहुने विश्वास गरिन्छ । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यताका साथ तान्त्रिक विधि बाट म्ह: पूजा गर्ने चलन रहिआएको छ।
साथै नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत् ११४५ पनि राष्ट्रिय विभूति शंखधर साख्वाले वि सं ९३७ (ई सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएको अवसरमा सोही दिन मनाउने चलन छ।