महोत्तरी, १ भाद्र । श्रीमतीको हत्या गरेर महोत्तरीबाट एक व्यक्ति फरार भएका छन् ।
शुक्रवार राती महोत्तरी गाउँपालिका-१ सोनखडा बस्ने अन्दाजी वर्ष ४५ को हबिब नदाफले आफ्नै श्रीमती अन्दाजी ३६ वर्षकी रोशना खातुनको हत्या गरेर फरार भएका हुन् ।
महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार ५ वर्षकी छोरी सानिमाको घरमा गएको मौका पारेर नदाफले कुटपिट पछि श्रीमतीको हत्या गरेका हुन् ।
एसपी पोखरेलले केटिएम दैनिकसँग भने, ‘बिहान सानिमाको घरबाट छोरी फर्केर आउँदा आमा मृत अवस्थामा देखेर रोई कराई गरेपछि मात्र छिमेकीले घटनाको बारेमा थाहा पाएका हुन् ।’
मृतक महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र फरार रहेका नदाफको खोजतलास जारी राखिएको एसपी पोखरेलले बताए।