सोलुखुम्बु, ३२ श्रावण । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे क्षेत्रमा आज दिउँसो अचानक आएको बाढीको कारण १४ भवनहरू बगेका छन् ।
गाउँपालिकाले आज साँझ एक सूचना जारी गर्दै एक विद्यालय होस्टेल, एक क्लिनिक, पाँच वटा होटेल र सात वटा घर सहित १४ वटा भवनहरू पूर्ण रूपमा बगेको जनाएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले दिएको जानकारीअनुसार बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशङ्का छ ।
आज दिउँसो माथिबाट आएको लेदो सहितको बाढीले थामे बस्तीमा ठुलो क्षति गरेको गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताए ।
सेना र प्रहरीको एउटा टोली घटनास्थल पुगेर उद्धारमा संलग्न भएको छ । उनीहरूले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् ।
यसैबिच थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिवार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरूको टोली त्यसतर्फ जान लागेको हो ।