पोखरा, ३० श्रावण । प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।
उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गरेका थिए ।
सर्वसाधरणबाट पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाएको खबर वडा प्रहरी कार्यालय बगर कास्कीमा पुगेपछि त्यहाँबाट खटिएको प्रहरी कर्मचारीलाई पनि उनीहरूले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले बताए ।
पक्राउ परेका दुवैउपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।