काठमाडौँ, १४ भाद्र । आफूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक बताउँदै लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति नुवाकोट दुप्चेश्वर-४ घर भई हाल काठमाडौँको कालोपुल बस्ने वर्ष २५ को सुमन तामाङ भन्ने मिङमार तामाङ हुन् ।
तामाङले आफूलाई प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको प्रहरी निरीक्षक हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उनी गत श्रावण २२ गते काठमाडौँको डल्लु बस्ने तीर्थलाल तामाङको एक तोलाको सुनको सिक्री र नगद रु ६७ हजार रुपैयाँ लिएर फरार भएका थिए ।
यही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले मिङमार तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनले प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाइकल समेत चोरीको रहेको अनुसन्धानमा खुलेको छ ।
अनुसन्धानको क्रममा आफूलाई सुमन तामाङ भनेर चिनाउन खोज्ने मिङमार तामाङले अन्य व्यक्तिहरूलाई समेत ठगी तथा लुटपाट गरेको भनी काठमाडौँ उपत्यका अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा आठ वटा निवेदन परेको पाइएपछि पीडितहरूसँग थप जाहेरी दरखास्त लिइएको प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिए ।
लुटपाट पश्चात् उपत्यकाका विभिन्न लज तथा होटलहरुमा बस्ने र बिल (रकम) समेत नदिई सञ्चालकहरूलाई म सादा पोशाकको प्रहरी निरीक्षक हो भनी धाक धम्की दिने गरेको समेत खुलेको छ ।
आफूलाई सादा पोशाकको प्रहरी बताउने तामाङले जस्तो सुकै समस्या परेको खण्डमा समेत सहयोग गर्ने विश्वास दिलाउँदै नजिकको सम्बन्ध स्थापित गरे पश्चात् ठगी तथा लुटपाट गर्ने गरेका थिए ।
श्रावण २२ गते तीर्थलाल तामाङबाट लिएको सुनको सिक्री उनले गोगंबुमा रहेको बागलुङ भगवती सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए । चोरीको सामान किनेको अभियोगमा प्रहरीले उक्त पसलका सञ्चालक बागलुङ काठेखोला-२ स्थायी ठेगाना भएका ६३ वर्षीय बल बहादुर सुनारलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तामाङ र सुनारउपर आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको एसपी आचार्यले जानकारी दिए ।