काठमाडौँ, ३० श्रावण । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बाग्मती, विष्णुमती लगायतका नदिहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै बाग्मती, विष्णुमतीलगायतका नदीहरूमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।
सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीहरूलाई पूनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोर मैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोचिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ यसमा विज्ञहरूको सुझाव राम्रा सुझावहरू आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरू कार्यक्रमहरू के के गर्न सकिन्छ गरौँला ।’
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए ।
सो क्रममा विज्ञहरूले सुख्खा याममा काठमार्डौंका नदिहरुमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ-आफ्नो राय राखेका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने बताएका थिए।
पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरूसँग छलफल सुरु गर्नु सकारात्मक रहेको जनाए । ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौँ,’ उनले भने, ‘नदी सफाइ, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ ।’