काठमाडौं, २४ श्रावण । दुई वर्षअघि चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको धुम्बाराही स्थित जोरकुवाबाट बागमती प्रदेश ०२-०२९ प ९०२१ नम्बरको मोटरसाइकल हराएको भनी कपन बस्ने सिन्धुपाल्चोकका अनिल दङ्गालले खोजतलासका लागि २०७९ सालको साउन १९ गते निवेदनका दिएका थिए ।
उक्त निवेदनअनुसार खोजतलास गर्ने क्रममा प्रहरीले आज सोही मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका-६ तीनचुली बौद्धबाट मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले केटिएम दैनिकलाई बताए ।
एसपी खड्काका अनुसार जोरपाटी बस्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ४ डाँडाजेरुका २२ वर्षीय आकाश राईलाई बागमती प्रदेश-०२-०३० प ८२ ७३ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको हो । राईले उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेका थिए ।
नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ भने सवारीधनीलाई उक्त मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन्।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको उनले बताए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।