काठमाडौँ, २ असोज । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शङ्कास्पद रूपमा चलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौँको कीर्तिपुर बस्ने २४ वर्षीय पुरुषोत्तम यादवलाई गत सोमबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा यातायात व्यवस्था कार्यालयमा मोटरसाइकलको अभिलेख फरक भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले सम्बन्धित कम्पनीमा बुझ्दा समेत उक्त मोटरसाइकल नेपालमा बिक्री वितरण नभएको पाइएको बताए ।
पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कारबाहीको लागि आज (बुधवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको एसपी खड्काले जानकारी दिए ।