काठमाडौँ, १८ श्रावण । ललितपुरको सातदोबाटोमा शुक्रवार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
६८ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ५ ख १५ ५३ नम्बरका बस चालक दोलखाको गौरीशंकर गाउँपालिका ८ का २५ वर्षीय निम छिरिङ शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब, ड्रग कीट मा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।
जगातीमा आज १० वटा सवारी साधनलाई चेक गर्दा एक जना सवारी साधनका चालकले भने लागूपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका शेर्पालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ ।
चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरू गर्दै आएको र आगामी दिनहरूमा पनि यसरी नै चेकिङलाई कडाइका साथ निरन्तरता दिइने प्रवक्ता खड्काले जानकारी दिए ।