काठमाडौँ, १३ भाद्र । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युत् बक्यौता उठाउन रोकेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युत् बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसद्ले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन् । साथै बाँस्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए ।
बाँस्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने बित्तिकै बङ्गलादेश बनाउने बताएको उल्लेख गरे । बाँस्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसङ्ग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडी सारे ।