काठमाडौँ, १३ भाद्र । काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल, मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१-००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा फेला पारी शर्मालाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
त्यस्तै सुदूर पश्चिम प्रदेश ०१-००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डढेल्धुराको पर्शुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका फुयाँल र स्याङ्तानलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त कीर्तिपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।