काठमाडौं, १० भाद्र । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए । ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखक भने ।