विराटनगर, १० भाद्र । इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साउन महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोसी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटी सूक्ष्म रूपमा सूचना सङ्कलन एवं खोजतलास गरी साउन २४ गते निज कैदीलाई मोरङको जहदा गाउँपालिका-१ तारेगामा स्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारेका थिए ।
साथै लागू औषध ओसारपसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रूपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैयाँ बराबरको समान बरामद गर्न सफल भएको र विभिन्न मितिमा दुर्व्यसनी विरुद्ध आमाहरू कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका-१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरूलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेकाले उनलाई उत्कृष्ट घोषित गरिएको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आइरहेको छ ।