जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिवार अबेर राति अचानक निरीक्षण गरेका छन् ।
बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले शनिवार राति ११ बजे प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका हुन् ।
उनले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्षलगायत निरीक्षण गरी ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्य विभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिएका छन् ।
त्यस क्रममा मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले ड्युटी कक्षमा कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरबाही नगर्न समेत निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न भन्दै सूचीअनुसारको औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।
उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवा अस्पतालका सेवा सुविधाका बारेमा कुराकानी गरे ।
रातका समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावका बारेमा केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले त्यहाँ आइपुगेका प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई ती समस्या समाधान गर्न निर्देशन दिए ।
उनले अस्पतालमा बिरामीको चापमा अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गर्दै अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवा सुविधा उन्नत बनाउन र विविधीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
रातका समयमा मुख्यमन्त्री सिंहले अस्पतालको निरीक्षण गरेकामा बिरामी तथा कुरुवाहरूले खुसी व्यक्त गरेका छन् ।