सर्लाही, श्रावण १५ । चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रूपमा काम गर्ने कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय लाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
रामचन्द्रको चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।
रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा छ सदस्यीय अनुसन्धान टाली खटाइएको थियो ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार फर्सा, राज उजैन राय सुतेको तन्नामा रगत जस्तो रातो पदार्थ लागेको फेला परेको, सेतो गञ्जी, हाफ पाइन्टलगायत सबुत प्रमाण प्रहरीले फेला पारेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलिग्राफी जाँच प्रहरीले गरेको जनाइएको छ ।
पक्राउ परेका दुवै व्यक्ति उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।