बनेपा । आज बिहान काठमाडौंबाट इलामतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा माइक्रो बस नालीमा खस्न पुगेको छ ।
पनौती-५ सुन्दरबस्ती नजिक बा६४प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ०२९८ नं.को ईलेक्ट्रोनिक माइक्रो गाडिले बिहान ६:४५ बजे ठक्कर दिई भाग्ने क्रममा आफै दुर्घटनामा परेको हो ।
काठमाडौँबाट यात्रु लिएर रामेछाप जाँदै गरेको उक्त माइक्रो दुर्घटनापश्चात् भाग्ने क्रममा नालीमा खस्न पुगेको प्रहरीले जनाएको छ ।
सडकको कुनाको नालीमा खस्दा माइक्रोमा सवार रामेछाप मन्थली नगरपालिका-१२ बस्ने २० बर्सिया रमिला बुढाथोकीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलका चालक इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने राम कुमार राई र मोटरसाइकलमा सवार उनको श्रीमती प्रविशा सुनुवार घाइते भएका छन् ।
त्यस्तै माइक्रोमा सवार रामेछाप मन्थली नगरपालिका-१ की पुष्पा तामाङ र रकिट ढुङ्गेल, मन्थली-२ की ज्ञानु ढुङ्गेल, लिखुतामाकोशी गाउँपालिका-६ बस्ने टंक प्रसाद दाहाल र अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका-३ बस्ने उर्मीला घिमिरे घाइते भएका छन् ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र माइक्रो चालक काभ्रे पनौती नगरपालिका-५ बस्ने वर्ष ४१ को उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।