काठमाडौँ । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारको लागि दिल्ली लगिने भएको छ ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ उडेको हेलिकप्टर आज बिहान दुर्घटनामा हुँदा पाइलट प्रकाशकुमार सेढाई घाइते भएका थिए ।
पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै त्यहाँबाट काठमाडौँको ह्याम्स अस्पतालमा ल्याएर उपचार जारी छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै पाइलटको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको जनाएको छ । उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या देखिएको उपचारमा संलग्न डा. सबिन कोइरालाले जानकारी दिए ।
परिवारको र एयरलाइन्सको सल्लाहमा पाइलट सेढाईलाई थप उपचारको लागि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टर लैजाने तयारी भइरहेको छ ।
उनलाई आजै त्यसतर्फ लैजाने तयारी गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।
केही समयअगाडि खाना पकाउने ग्याँस सिलिन्डरमा आगो लाग्दा घाइते भएका सांसद चन्द्र भण्डारी साढे दुई महिना नेशनल बर्न सेन्टरमा उपचारपछि निको भएर स्वदेश फर्केका हुन् ।
तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना
पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन्। दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन्। गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो।