सिमकोट । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ ।
‘महिला आयआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायब सुब्बा विमला सिंहले बताइन्।
कम्तीमा महिलाको भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उद्देश्यले सञ्चालित तालिमबाट महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताइन्। वडा नं. ६ माथिल्लो गाउँका १५ दलित महिला कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको सहजीकरण सिंह र जेटिए सुन्दर रावतले गरेका थिए ।
तालिममा सहभागी १५ दलित महिला कृषकलाई ग्रिनहाउस निर्माणका लागि प्रतिमहिला एक-एक थान त्रिपाल वितरण गरिएको थियो । साथै, उनीहरुलाई तरकारीको बीउ नि:शुल्क वितरण गरिएको थियो ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई काठमाडौँको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको छ ।
हेल्थ ट्रष्टबाट तीन सय १८ प्रकारको औषधि सहयोग प्राप्त भएको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले बताए। ट्रष्टले रु चार लाख ५० हजारको औषधि सहयोग गरेको हो ।