काठमाडौं । ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा घटनास्थलमै निधन भएका ६ जनामध्ये तीनजनाको सनाखत भएको छ ।
ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ तर्फ आउँदै गरेको बा.२.ख ६५९६ नम्बरको बस तिब्र गतिको कारण आफै अनियन्त्रित भई सिन्धुलीको फिक्कल गाउपालिका-४ कुईभिर सडक भित्तामा आज बिहान ९:१५ बजे ठोक्किन जाँदा दुर्घटना भएको हो ।
सिन्धुली प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको घटनास्थलमै निधन भएको हो । निधन भएकामध्ये एक महिलाको शव बसले च्यापिएको अवस्थामा फेला परेको थियो ।
मृतकमध्ये सनाखत भएकाहरूमा सहचालक ओखलढुङ्गाको मानेभन्झ्याङ गाउँपालिका-६ बस्ने बर्ष २४ को देब बहादुर सार्की, सोही स्थानका अन्दाजी ३०/३२ वर्षका पेशल भुजेल, उदयपुरको कटारी नगरपालिका-२ बस्ने अं.३४/३५ की कुमारी क्याप्छाकी मगर रहेका छन् । मृतकमध्ये एक पुरुष र दुई महिलाको सनाखत हुन बाँकी रहेको डिएसपी दाहालले केटिएम दैनिकलाई बताए ।
दुर्घटनामा चालकसहित ३० जना घाइते भएका छन् । उनीहरूमध्ये गम्भिर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको छ ।