महोत्तरी । यसपाली फलफूल खेती गर्ने किसानको मुहारमा खुशी छाएको छ । आँप, लिचीलगायतका फलका बोटमा झपक्क मञ्जर लागेपछि उनीहरु रमाएका हुन् । बगैँचामा आँप र लिचीका बोटका हाँगा मज्जरको भारले लपक्क नुहेका देखिन्छन् ।
फलफूल खेतीमा राजा मानिने आँपमा पात नै नदेखिने गरी बोटमा मज्जर लागेको छ । त्यसैगरी, लिचीका बोट पनि राम्ररी फुलेका छन् । बगैँचामा आँप र लिचीका बोटका मज्जर हेरेर किसान अहिले राम्रो उत्पादन हुने आशमा खुशी छन् । आँप, लिची दुवै बगैंचा खेतीका मुख्य बाली भए पनि जिल्लामा बगैंचा भनेपछि आँप नै बुझिने गरिन्छ ।
“हेर्नोस न, आँपका बोटमा मज्जरले पात देखिँदैन, यो मज्जर चिचिला लाग्ने हो भने यसपालि राम्रो आम्दानी हुनेछ” बर्दिबास-९ पशुपतिनगरका बगैंचा खेती गरेका किसान सुरज सिंह कुशवाहा भन्छन्, “बोटमा देखिएको मज्जरले सारा दु:ख बिर्साएको छ ।” मज्जरको वासना अहिले चारैतिर छरिएको छ । यसपालि आँप राम्रो फल्ने आशले कुशवाहासहितका पशुपतिनगरका किसान मख्ख देखिन्छन् ।
महतोजस्तै छिमेकको भङ्गाहा-४ का फलफूल खेती गर्दै आएका किसान हरिदेव साहको मन पनि प्रफुल्ल छ । “हाम्रो खुशी र हाँसो यही बगैंचामा छ” बगैंचामा मज्जरले लपक्क नुहेका आँपका बोट देखाउँदै उनी भन्छन्, “बोटमा राम्रो मज्जर छ, आँप राम्रो फल्ने आश छ ।” पशुपतिनगरका मात्र नभएर व्यावसायिक रुपमा आँप, लिचीसहितका फलफूल खेती गर्ने जिल्लाका सबै भेगका किसानलाई आफ्ना बोटमा खेलेको मज्जरले अहिले दङ्ग बनाएको छ ।
“हेर्नोस् न, मज्जरले छोपेर पात हाँगा केही देखिएका छैनन्, मज्जरको भारले हाँगा पनि नुहेका छन्” बर्दिबास नगरपालिका-५ चेरुका किसान होतराज घिमिरेले आफ्नो आँप बगैँचातिर देखाउँदै भने,“ठूलो हावाहुरी नआएर मधुवा (मज्जरमा लाग्ने एक किसिमको कीरा, रोग) नलागे त यसपालि आँप राम्रो आश छ ।” अहिले मधुवा नलागीदेओस् र आउने चैत र वैशाखमा हुरिबतासले आँपका चिचिला नझारी देओस् भन्ने उनीले कामना समेत गरिरहेका छन् ।
महोत्तरीसहितका मध्यपूर्वी मधेश-तराईमा चैत/वैशाख रुखो र हुरिबतासको समस्या हुने महिना मानिन्छन् । अहिले असिनारहित माटोमा पर्याप्त चिस्यान पुग्ने गरी वर्षा होस् भन्ने फलफूल र अन्य खेती लगायतका किसानको चाहना छ । तर, यसपालि हिउँदे वर्षा नहुँदा किसानलाई मज्जरमा मधुवा लाग्नेहो कि भन्ने पीर छ । अहिले किसान मज्जरमा मधुवा नलागोस् भनेर पूर्व उपचारका लागि औषधि पानी छर्कंदै छन् ।
वर्षा भए दिने हो भने मज्जरमा लाग्ने कीरा, रुखमा लागेको जालो र पातका दाग आफैं पखालिएर झर्ने किसान बताउँछन् । “वर्षाको पानी अमृतझैं हुन्छ” बर्दिबास-६ मनहरिपुरका किसान किसान विन्देश्वर यादव भन्छन्। त्यसैले यसपालि हिउँदे वर्षा नभएर किसान चिन्तित छन् । हिउँदे वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका कीरा पखाल्ने र जरामा पर्याप्त चिस्यान हुँदा फूल नझर्ने र चिचिला बोटमा राम्ररी अडिने उनको अनुभव छ ।
हिउँदे वर्षा नभएपछि रुखका जरामा सधैँजसो ओसारेर पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा (मज्जरमा पानी छर्कने) दिने गरिएको बर्दिबास-५ चेरुका किसान राजन पौडेल बताउँछन् । अहिले हिउँदे वर्षा नभएर पानीका मुहान सुक्दै गएका हुँदा सास्ती बढेको दुई बिघाभन्दा बढी बगैंचा खेती गरेको उनको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिञ्चाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने किसान बताउँछन् ।
जिल्लाका सबै भेगमा धेरथोर आँप बगैंचा लगाइएको भए पनि बर्दिबास, गौशाला, औरही, मटिहानी, मनराशिशवा र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रुपमै बगैंचा खेती गरिएको छ । खासमा बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, माइस्थान, पाटु, भव्सी, विजलपूरा र पशुपतिनगरका धेरैजसो किसानको खेती भनेकै आँप बगैंचा हो ।
त्यसैगरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फुलकाहा, बेलगाछी, कुष्माढी, रजखोर र रामनगर बगैँचा खेतीका पकेटक्षेत्रका रुपमा मानिन्छन् । यस्तै, भङ्गाहा नगरपालिकाका बस्तीमा पनि बगैँचा खेती बढ्दो छ । बगैँचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् । कटहरमा फुल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिएपनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् ।
“कटहरको फूलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुँदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि मज्जर र टिकोला बग्रेल्ती झार्छ” बर्दिबास-९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो भन्छन् । मधुवाको समस्या पनि आँप र लिचीमा बढी हुने महतोसहितका किसानको अनुभव छ । सपाटो चाहीं व्यवसायको रुपमा नभई किसानले शोभा र आफ्नो घरका परिवारजनका लागि मात्र लगाउने गरेका पाइएको छ ।
पछिल्लो जारी दशकमा कृषि कार्यका मजदूर पाइन छाडेपछि जिल्लामा बगैँचा खेती गर्ने किसान ह्वात्तै बढेका छन् । मजदूर नपाइने, समयमा खादमल र बीउको अभाव हुने र आवश्यक मात्राको सिञ्चाइ सुविधा नभएपछि अन्नबाली गर्ने ठाउँमा बगैँचा थपिँदै गएर यो खेती बढेको हो । जिल्लामा विक्रम संवत् २०६० सम्म पुगनपुग दुई हजार हेक्टरमा रहेको बगैँचा खेती पछिल्लो करिब दुई दशकको बीचमा बढेर अब छ हजार हेक्टरभन्दा माथि पुगेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी, जलेश्वरले जनाएको छ ।
बगैँचा खेती बढ्दै गएसँगै किसानले यसबारेको प्राविधिक सल्लाह, रोगव्याधमा उपचार र भरपर्दो बिरुवा नपाएरभने ठगिनु परेको बताउँदै आएका छन् । तीनै तहका सरकारले किसानका मर्का बुझेर आवश्यक सहयोग गर्नुपर्ने किसानको माग छ ।