जुम्ला । जुम्लाको तिला गाउँपालिका-७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ ।
उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भने, “गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।” आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए ।
स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानूनमन्त्री भण्डारीले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
वैकल्पिक केन्द्रको रु तीन करोड एक लाख ८८ हजार र पालिकाको रु ३० लाख साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए ।
अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए। सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उनले उल्लेख गरे । सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् ।
गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् । उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन् ।
बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धि रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीवासी धिरज रोकायाले विश्वास व्यक्त गरे ।