जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो ।
उनी घरपरिवार, छोराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बसेका हुन्। राजगारीको कुनै माध्यम नभएपछि गन्धभ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन् ।
उनले भने, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दै आएको छु । यसकै आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा मार्छौं, छोराले बिक्री गर्छ ।”
खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको गन्धर्भ बताउँछन् । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा-जमीन छैन”, उनले भने । गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए ।
अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा पनि जमीन छैन । वर्षौंदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई सधैं के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ ।
माछा मारेरै जीविकोपार्जन गर्दै आएका श्याम बादी स्थानीय, प्रदेश र सङ्घीय सरकारसित जग्गा उपलब्ध गराउन माग गर्छन् । गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ ।
जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन् । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भनिन् । चालिसभन्दा बढी परिवारसँग जग्गा नभएको उनको भनाइ छ ।