धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो । हालसम्म पालिकाले एक सय २१ दलित समुदायको नि:शुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिए। दश वटा वडा भएको पालिकाको वडा नं. ८ बाहेक सबै वडाका दलित परिवारको बीमा गरिएको उनको भनाइ थियो ।
गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो”, उनले भने ।
उक्त पालिकाले आफ्नो पालिकामा कार्यरत् अन्य ५२ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।