गलकोट । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका-८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ ।
‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से-सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा विद्यालय मुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्म क्षति पुगेको हो । क्षेत्र नम्बर एकअन्तर्गत पर्ने उक्त सडकको झण्डै १० किलोमिटर कालोपत्रका लागि सडक चौडा पार्ने काम भइरहेको छ ।
पहिरोले विद्यालय भवन जोखिममा परेपछि पठन-पाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र हमालले बताए। “पहिरोले विद्यालय जोखिममा पारेकाले बर्खा नलाग्दै जोखिम न्यूनीकरण गर्नुपर्ने हुन्छ । यसका लागि निर्माण व्यवसायी र वडा कार्यालयलाई जानकारी गराएका छौँ”, उनले भने ।
प्रधानाध्यापक हमालका अनुसार विद्यालयको प्रवेशद्वारसम्म सडक निर्माणका क्रममा चिर्किएको छ भने विद्यालयको शौचालय र धारामा गत वर्षको पहिरोले क्षति पुर्याएको थियो । विद्यालयको पूर्व र पश्चिम पट्टी भिरालो जग्गा भएका कारण जोखिम बढ्दै गएको उनको भनाइ थियो ।
विद्यालयलाई जोगाउन तत्कालै ग्याबिन लगाउने तयारी भइरहेको निर्माण कम्पनी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले जानकारी दिए। उनले ढुङ्गासहितको जग्गामा सडक चौडा पार्ने क्रममा सुख्खा पहिरो गएको जानकारी गराउँदै विद्यालयलाई कुनै क्षति हुन नदिने बताए। रू ३२ करोड लागतमा उक्त सडक विस्तार र पूर्वाधारको काम भइरहेको छ ।