काठमाडौं । रूकुम (पूर्व) को एक विद्यालयमा शिक्षकले जम्मा तीन जना विद्यार्थीलाई पढाउँदै गरेको अवस्थामा भेटिएका छन् ।
रूकुम(पूर्व) को सिस्ने गाउँपालिका–८ स्थित आधारभूत विद्यालय भुरूङ्गामा कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई पढाउँदै गरेका शिक्षकको तस्बिर राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको हो ।
उक्त विद्यालयको कक्षा ७ मा जम्मा तीन छात्रा र पाँच छात्र छन् । कक्षाकेठामा भने तीन जना छात्रा मात्र उपस्थित रहेको राससकी पत्रकार सर्जना कार्कीले जनाइन् ।
वडाध्यक्ष गोपाल पुन उक्त विद्यालयमा कम विद्यार्थी नै रहेको बताउँछन् । उनले भने, ‘यो मेरो वडाको मात्र समस्या हैन, पैसा हुनेहरू नीजि विद्यालयमा पठाउँछन्, कोहीले दाङ वा काठमाडौं लगेर पढाउँछन् । ‘
उक्त विद्यालयका प्रधानाध्यक मोहन कुमार पुनले कक्षा ७ मा आठ जना विद्यार्थी भर्ना भएतापनि दैनिकजसो तीनजना छात्राहरु मात्र विद्यालय आउने बताए । उनले भने, ‘नाम आठ जनाको छ तर सँधै स्कुल आउने तीन जनामात्रै हुन् ।’
कम विद्यार्थी भएका विद्यालयहरू एक आपसमा गाभ्ने सरकारको नीति के छ भन्ने प्रश्नको उत्तर खोज्न हामीले शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मासँग टेलिफोन सम्पर्क गर्ने प्रयास गरेतापनि उनको फोन उठेन ।