काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्न नसकेको टिप्पणी गरेकी छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा उनले सरकारले शिक्षा, स्वास्थ्य सुनिश्चितता नगरी व्यापार गरिरहेको तर्क गरिन् । “शिक्षा र स्वास्थ्यमा व्यापार हुँदा अधिकांश आर्थिक स्थिति कमजोर भएका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्”, उनले भनिन् । सरकारले दिने छात्रावृत्ति कसले पाउँछ भनेर थाहा पाउन गाह्रो हुने गरेको उनको भनाइ थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् ।
क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री होमनाथ दाहालले शिक्षा र स्वास्थ्य गुणस्तर नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए । नेपालको शिक्षा क्षेत्र दयनीय रहेको उनको भनाइ थियो । क्याम्पस सञ्चालक समितिका सदस्य एवं पूर्वमन्त्री विक्रमबहादुर थापाले महिला शिक्षालाई अगाडि बढाउन डिल्लीबजार कन्या क्याम्पसले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। परिवारमा एउटा महिला शिक्षित भयो भने सबै शिक्षित हुन्छन् भन्ने मुख्य मान्यताका साथ विसं २०३७ मा स्थापना भएको उक्त क्याम्पसले अहिले स्नातक तहमा बिवीएम, बिएड, बिबीएस र स्नातकोत्तर तहमा अङ्ग्रेजी, समाजशास्त्रलगायतका विषयमा अध्यापन गराउँदै आइरहेको सो क्याम्पसका क्याम्पसप्रमुख अपराजिता अर्यालले जानकारी दिइन् ।
बयालीसौँ वार्षिकोत्सवका अवसरमा आज सो क्याम्पसमा पढाउँदा-पढाउँदै पिएचडी गर्ने प्राध्यापक, निवृत्त हुने कर्मचारी, उत्कृष्ट प्राध्यापक, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस्तै, वार्षिकोत्सवकै अवसरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । सो अवसरमा क्याम्पसले वार्षिकरूपमा प्रकाशन गर्दै आएको ‘पुष्पाञ्जली’ पत्रिकाको विमोचन गरिएको थियो । न्यून तथा मध्यमवर्गीय परिवारलाई न्यून शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त क्याम्पसमा हाल सात सय छात्रा अध्ययनरत् रहेको सो विद्यालयका प्राध्यापक हरिहर घिमिरेले जानकारी दिए ।