नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ ।
मन्त्री किरातीसँग सिंहदरबारमा बुधवार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौँ पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।
मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेस गर्दै अध्यक्ष राजेन्द्र मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैर आवासीय नेपालीलाई परिचालन गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ, ।’
मुलुकको अर्थतन्त्र सङ्कुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठुला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुपति, लुम्बिनी, लगायतका क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय महत्त्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कूटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराँती समक्ष आग्रह गरे । यसै गरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
विशाल जनसङ्ख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनको सुझाव छ । अध्यक्ष मल्लले भने, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तीमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ ।’
मन्त्री किराँती समक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा शुल्क निःशुल्क गर्नुपर्ने बताएका थिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए ।
उनले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्क देखि हवाई भाडा सम्म निकै महँगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु ।’ उनले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको समेत बताए ।