भान्जाको छेवरमा सहभागी भएर फर्कदै गरेका यात्रुहरू चढेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेर निधन भएका व्यक्तिहरूको सनाखत भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ ढुंखर्कमा मंगलबार साँझ बस दुर्घटना हुँदा छ पुरुष, आठ महिला एक बालक र दुई बालिका गरी १७ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये १५ जनाको शव धुलिखेल अस्पतालमा राखिएको छ भने दुई जनाको शव शिर मेमोरियल अस्पतालमा रहेको छ ।
२२ जना घाइतेहरूको उपचार जारी छ । धुलिखेल अस्पतालमा नौ जनाको उपचार भइरहेकोमा दुई जना डिस्चार्ज भएका छन् भने शिर मेमोरियल अस्पतालमा सहचालक सहित आठ जनाको उपचार जारी छ एकजना घाइते उपचारपछि घर फर्केका छन् । त्यस्तै पाँच जनालाई काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा रेफर गरिएको छ ।
तामाङ समुदायको छेवर कार्यक्रमको लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको उक्त बसलाई नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरेको थियो ।