भान्जाको छेवरमा सहभागी भएर फर्केदै गरेका यात्रुहरू चढेको बस दुर्घटनामा परेर निधन भएका व्यक्तिहरूले आफन्तले अहिले धुलिखेल अस्पताल भरिएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ ढुंखर्कमा आझ साँझ बस दुर्घटना हुँदा घटनास्थलमै १५ जनाको निधन भएको छ ।
धुलिखेल अस्पताल परिसरबाट सार्वजनिक भएका तस्बिरहरूमा धेरै मानिसहरूको भिड देख्न सकिन्छ । अस्पताल परिसरमा आफन्तको रुवासी र चित्कार सुनिएको सोही अस्पतालमा विरामी कुरुवा बसेका एक व्यक्तिले केटिएम दैनिकलाई बताए ।
बेथानचोक गाउँपालिका-४ का वडाध्यक्ष कृष्ण बहादुर लामाले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार १५ जनाको घटनास्थलमै निधन भएको हो । उपचारको क्रममा धुलिखेलमा अस्पतालमा दुई जना र शिर मेमोरियल अस्पतालमा दुई जनाको निधन भएको अपुष्ट खबर आएको समेत वडाध्यक्ष लामाले बताए ।
प्रहरीले १७ जनाको निधन भइसकेको पुष्टि गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले केटिएम दैनिकलाई बताएअनुसार बा ३ ख ४३८५ नम्बरको उक्त बसमा ३२ देखि ३५ जना यात्रुहरू सवार थिए ।
दुर्घटना आज बेलुका ६:३० देखि ७ बजेको समयमा भएको जनाइएको छ ।
तामाङ समुदायको छेवर कार्यक्रमको लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरेको थियो ।