भान्जाको छेवरमा सहभागी भएर फर्केदै गरेका यात्रुहरू चढेको बस काभ्रेको बेथानचोक गाउँपालिका–४ ढुंखर्कमा मा दुर्घटना हुँदा घटनास्थलमा १५ जनाको निधन भएको छ ।
बेथानचोक गाउँपालिका-४ का वडाध्यक्ष कृष्ण बहादुर लामाले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार १५ जनाको घटनास्थलमै निधन भएको हो । उपचारको क्रममा धुलिखेलमा अस्पतालमा दुई जना र शिर मेमोरियल अस्पतालमा दुई जनाको निधन भएको अपुष्ट खबर आएको समेत वडाध्यक्ष लामाले बताए ।
प्रहरीले भने मृतकको सङ्ख्या एकिन भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले केटिएम दैनिकलाई बताएअनुसार बा ३ ख ४३८५ नम्बरको उक्त बसमा ३२ देखि ३५ जना यात्रुहरू सवार थिए । दुर्घटना आज बेलुका ६:३० देखि ७ बजेको समयमा भएको जनाइएको छ ।
घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए । तामाङ समुदायको छेवर कार्यक्रमको लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरेको थियो ।