जाजरकोटमा आज भएको जीप दुर्घटनामा परेर नौ जनाको निधन भएको छ भने तीनजना घाइते भएका छन् ।
मध्यपहाडी सडक खण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ र ५ को बीचमा पर्ने भिरपाटीमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार जीप सडकबाट अन्दाजी २०० मिटर तल खस्दा आठ जनाको घटनास्थलमै र एक जनाको उपचार गर्न ल्याउने क्रममा निधन भएको हो ।
सदरमुकामदेखि लगभग तीनघण्टाको दुरीमा रहेको उक्त दुर्घटनास्थबाट गम्भिर घाइते भएका तीनजनालाई उपचारको लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत जनक भण्डारीले बताए ।
मृतकको सनाखत हुन बाँकी छ भने घाइतेहरूको परिचय खुलेको छैन ।