झापा, सर्लाही र रुपन्देहीमा भएका सडक दुर्घटनामा परेर तीन पुरुषको निधन भएको छ ।
प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकमा मे.१ ह ७२६० नम्बरको सिटीले किच्दा सिटीका चालक दमक नगरपालिका-५ बस्ने ४८ वर्षीय रण बहादुर खडकाको शनिबार दिउँसो मृत्यु भएको हो ।
सिटीबाट फर्निचरको सामान झारी सामान राख्ने क्रममा सिटी अचानक गुड्न गई किच्दा बेहोस भएका खडकाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
यस्तै सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ सखुवास्थित सडकमा नम्बर नखुलेको स्करपियोले ज.१० प १३०८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भएका २२ वर्षीय नेक महमदको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको र फरार स्करपियोको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सडकमा ना.६ ख ७९०९ नम्बरको बस र लु.२७ प ६९७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१२ जैकुटी बस्ने ४८ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।