नेपाली नागरिक र पासपोर्ट भएकी चिनिया जासुस महिला भारतको दिल्लीबाट पक्राउ परेकी छन् ।
भारतीय न्यूज एजेन्सी एएनआईले प्रहरीको भनाई उदृत गर्दै जनाएअनुसार नेपाली पहिचानमा बस्दै आएकी एक चिनियाँ महिलालाई राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार दिउँसो उत्तरी दिल्लीबाट पक्राउ गरिएको हो ।
हाइनान प्रान्तकी चाइ रउ (Cai Ruo) को रूपमा चिनिने महिलालाई दिल्ली प्रहरीको विशेष सेलको टोलीले मजनुका टिल्लाबाट पक्राउ गरेको हो। उनको साथबाट काठमाडौं निवासी डोल्मा लामा नामको नेपाली नागरिकताको प्रमाणपत्र र पासपोट समेत बरामद भएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।
ती महिला सन् २०१९ मा चिनियाँ राहदानीमा भारत आएको समेत समाचारमा बताइएको छ । उनिमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप लगाइएको छ।
दिल्ली प्रहरीलाई उदृत गर्दै आएका समाचार अनुसार ती महिला नेपालको सीमाबाट बिहार हुँदै दिल्ली पुगेकी थिइन्। उनले भारतको विभिन्न भागमा घुमफिरसमेत गरेको प्रहरीको दाबी छ। ती महिलाले नेपाली र हिन्दी दुवै भाषा बोल्ने गरेको बताइएको छ।
ती महिला उत्तरी दिल्लीको तिब्बती शरणार्थी शिविर मजनु का टिल्लामा एक बौद्ध भिक्षुको भेषमा, छोटो कपाल काटेर बस्दै आएकी थिइन्। चीनका केही कम्युनिष्ट पार्टीका नेताहरूले आफूलाई मार्न खोजेको भन्दै उनी भारततर्फ भागेको पनि उनले दाबी गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।