गौतम धिमालले अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२ बाट सम्मानित हुने भएका छन्। पुरस्कारको घोषणा यही अक्टोबर २५, २०२२ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केल हलमा हुनेछ।
यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यस अघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाएका भएपनि ती तस्विरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए। धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्ष समेत हुन् ।
धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन/फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । धिमालका अवार्ड विजेता तस्बिरहरू www.HimalayanFashionAdventure.com मा हेर्न सकिन्छ। अहिले १९ औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष विभिन्न देशबाट हजारौं तस्बिर प्राप्त गर्दछ।
मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी चलचित्रका लागि लाइन प्रोड्युसरको रूपमा काम गर्दै आएका भने हाल उी स्वदेशी चलचित्र निर्माणमा समेत प्रवेश गरेका छन्।
धिमालले थुप्रै स्थानीय र अन्तर्राष्ट्रिय चलचित्र निर्माण टोलीसँग मिलेर काम गरिसकेका छन् । धिमाल र उनको कामको बारेमा थप जानकारी www.GautamDhimal.com मा हेर्न सकिन्छ ।