काँडाघारीस्थित अक्षरा स्कुलले बनौं संस्कारी पाठ्यक्रम शुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको शुक्रवार विमोचन गरियो । वरिष्ठ चिकित्सक डा भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरे।
पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य भुल्दै गएको बताए । उनले भने, अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।
कोइरालाले पुस्तकमा १०१ गुण हुनु पर्नेमा जोड दिएपनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै धारण गरे भने पनि जीवन सफल हुने प्रतिक्रिया दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले हामी सबै हाम्रा नानीबाबु असल होउन भन्ने चाहन्छौं तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने नगरेको बताए । उनले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्र अंक ल्याएर पास गर्छौ तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं ।’ असल समाज र असल व्यक्ति निर्माण गर्ने संस्कारी शिक्षाले नै भएको थपलियाले बताए । उनले भने, ‘संसार बदल्ने हो भने पहिला आफै बदलिनु पर्छ । आफै बदलिन संस्कार जान्नु पर्छ । संस्कार सहितको शिक्षा हुनुपर्छ ।’
स्कुलकी संस्थापक एवं प्रिन्सिपल अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुलको स्थापना गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो विद्यालयको मिसनसंग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं । अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ ।’
जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनै पर्नेमा लेखक अधिकारीले जोड दिए । अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमुल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।