तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् ।
मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिए ।
मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाएका थिए । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् । गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताए ।
मन्दिरको महत्वसँगै यस आसपासको क्षेत्रलाई शिक्षा, योग, आयुर्वेद आदिको केन्द्रका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए । नवनिर्मित मन्दिरको गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल र जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण पनि यहाँको महत्व चुलिएको स्थानीयवासी बताउँछन् । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैँ हल्लिएको प्रत्यक्ष देखेको स्थानीयबासीको भनाई छ ।
मन्दिर परिसरमा रहेको कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नुलाई पनि यहाँको शक्तिका रुपमा लिने गरिएको छ । त्यस्तै मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नुलाई पनि दैवी शक्तिका रुपमा लिने गरिएको छ ।मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् ।
मन्दिरको स्तरोन्नति गर्न २०७४ चैत २५ गतेबाट २०७५ वैशाख ३ गतेसम्म श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो ।
परापूर्व कालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन् । पूर्वाधार विकाससँगै आवश्यक प्रचारप्रसार गरी यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै यससँग उत्पादनलाई पनि जोड्न सकिने उनीहरूको तर्क छ ।