मोरङको लेटाङमा भएको झडपमा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
लेटाङका मेयर शंङ्कर राईले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार एकजना महिला प्रहरी जवानको घाँटीमा छुरा प्रहार गरिएको छ । घाँटीमा छुरा प्रहार भएकी महिला प्रहरीलाई शुभकामना अस्पताल मोरङमा बेलुका ८ बजे मृतावस्थामा नै पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार पल्स चेक गर्दा उनको निधन भैसकेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पनि महिला प्रहरीको निधन भएको पुष्टि गरे । केटिएम दैनिकसँगको सम्पर्कमा उनले भने ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो । यसबारे हामी अनुसन्धान गर्दैछौं,’
जिसिका अनुसार भिड नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गर्दा आक्रोशित भिडबाट पेट्रोल बम प्रहार भएको थियो ।
निधन भएकी महिला प्रहरीको नाम उर्मिला श्रेष्ठ भएको बताइएको छ ।
केही व्यक्तिलाई गोली लागेको हुनाले उपचारको लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको राईले केटिएम दैनिकलाई बताए ।
प्रहरी स्रोतका अनुसार केही प्रहरी घाइते भएका छन् भने केही प्रहरी सम्पर्कविहीन भएका छन् ।
यसबारे थप जानकारी लिनको लागि प्रवक्ता मञ्जील मुकारुङ सहितको एक टोली घटनास्थलतर्फ जाँदै गरेको छ । लेटाङमा अहिले भइरहेको झडपमा मोरङका एसपी जनार्दन जिसि घाइते भएको खबर प्राप्त भएको छ ।
मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक बालिकामाथि सोही विद्यालयका शिक्षकले जबरजस्ती करणी प्रयास गरेपछि आइतबार दिउँसोदेखि मोरङको लेटाङ तनावग्रस्त रह्यो ।
आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यार्थीले विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो ।
विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो । आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरेका छन् ।
साँझ पर्दै गएपछि स्थिती नियन्त्रणबाहिर पुगेको हो ।