मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत एक बालिकामाथि शिक्षकले करणीको प्रयास गरेको उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थानीयले शुक्रबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेको आरोप लगाएपछि दिउँसोदेखि नै विद्यालय क्षेत्र तनावग्रस्त बनेको हो ।
घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयले बताएका छन् । लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।
आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।
विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो । आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरेका छन् ।
विद्यार्थीको भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले सामाजिक सञ्जालमा प्रहरीहरू निधन भैसकेको भन्दै केही अपुष्ट पोष्टहरू देखिएका छन् । यसबारेमा हामीले मोरङ प्रहरी प्रवक्ता मञ्जील मुकारुङ लाई सम्पर्क गर्दा मृत्यु पुष्टि भइनसकेको बताए ।
यसबारे थप जानकारी लिनको लागि प्रवक्ता मञ्जील मुकारुङ सहितको एक टोली घटनास्थलतर्फ जाँदै गरेको छ । लेटाङमा अहिले भइरहेको झडपमा मोरङका एसपी जनार्दन जिसि घाइते भएको खबर प्राप्त भएको छ ।