युट्युब च्यानलबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाईबा पक्राउ परेकी छिन् ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर चितवनबाट शुक्रबार पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । शुक्रबार पक्राउ परेतापनि साईबर ब्यूरोले आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।
पक्राउ परेकी वाईबामाथि Celeb Nepal र Aone Media Channel नामक युट्युब च्यानल मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको अभियोगमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले पक्राउ गरिएको साइबर ब्यूरोले स्पष्ट पारेको छ ।
आफूलाई सामाजिक अभियान्ता बताउने वाइबाको स्थायी ठेगाना सुनसरीको बराहक्षेत्र न.पा. वडा नं ३ भएतापनि हाल उनी काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं. १० मा बस्दै आएकी थिइन् ।
उनीमाथि अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भैरहेको प्रवक्ता अर्यालले बताए ।